काठमाडौं । सहकारी पीडितको पक्षमा बहस गर्न जिल्ला अदालत काठमाडौं पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालत परिसमै कुटिएपछि प्रहरीमा उजुरी दिएका छन् । ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै बिहीबार उनले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका हुन् ।
बुधबार त्रिपाठी काठमाडौं जिल्ला अदालतमा रास्वपाका कार्यकर्ताबाट कुटिएका थिए । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न अदालत गएका उनी रविकै कार्यकर्ताबाट कुटिएका थिए । सो घटनाको चौतर्फी आलोचना भइरहेको छ । त्रिपाठीमाथिको आक्रमणप्रति नेपाल बार एसोशियसन, जिल्ला बारसहित विभिन्न राजनीतिक दलहरुले विज्ञप्ति जारी गरेर भत्सर्ना गरेका छन् ।
त्रिपाठीमाथि आक्रमण गर्ने एक जनालाई बुधबार नै प्रहरीले पक्राउ गरेको थियो । दोलखाको तामाकोशी गाउँपालिका १ घर भइ हाल ललितपुर बस्ने ललित केसी बुधबार पक्राउ परेका थिए । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया