नेकपा (माओवादी केन्द्र) का नेता र प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माओवादी तयार रहेको बताएका छन्। उनले शुक्रबार प्राइम टाइम्स टेलिभिजनको “जनता जान्न चाहन्छन्” कार्यक्रमका दौरान पत्रकार ऋषि धमलासँगको संवादमा यो कुरा बताएका हुन्।
शाहीले भने, “हामीले पहिलेदेखि नै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन चाहेका हौं।” उनले एमालेको साथ छाडेर कांग्रेसको सरकारबाट बाहिरिएपछि माओवादीले देउवालाई समर्थन गर्ने बताउँदै, “हाम्रो सहमति भइसकेको छ, हामीले जे सहमति गरेका छौं, त्यसको कार्यान्वयन गर्नेछौं।”
शाहीले केपी शर्मा ओलीलाई माओवादीको समर्थन नहुने कुरा स्पष्ट गर्दै, “केपी ओलीमा विश्वासघात र आपराधिक मानसिकता रहेको छ, र उहाँको प्रवृत्तिमा दुनियाँलाई बेकुफ बनाउन चाहने प्रवृत्ति छ।” उनले केपी ओलीलाई माओवादीले विश्वास नगर्ने र कुनै पनि बेला धोका दिन सक्ने निष्कर्षमा पुगेको बताए।
अर्कोतर्फ, शाहीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एमालेले प्रधानमन्त्री बनाउन चाहेको खण्डमा पनि माओवादीलाई त्यो स्वीकार्य नहुने कुरा प्रकट गरे। उनले माओवादी सरकार ढाल्न चाहन्न र जनतालाई जानकारी दिँदै जनताको कुराहरु सुन्ने कार्यमा लागिरहेको बताए।
प्रतिक्रिया