रवि लामिछाने रूपन्देही अदालतमा उपस्थित


काठमाडौेँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रूपन्देही अदालतमा उपस्थित भएका छन् ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी मंगलबार बेलुका भैरहवा पुगेका हुन् र उनीमाथि आज नै बयान तथा थुनछेक बहस हुनेछ । रविको मुद्दा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा पेशी तोकिएको हो । नारायण बहादुर पहराई समेत को जाहेरीले नेपाल सरकार बादी रहेको सो मुद्दामा रवि र रविना रिमाल समेत २२ जना प्रतिवादी रहेका छन् ।


उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा मुद्दा दायर भएको हो । कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा बुटवल लगेर बयान गराइएको थियो। सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको आरोप रहेको छ ।


लामिछानेलाई पोखराको सुर्यदर्शन सहकारी बचत अपचलन मुद्दामा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो। गत पुस २५ गते कास्की अदालतले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो र माघ २ गते काठमाडौं अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।