अमेरिकी राष्ट्रपतिले रस उल्ब्रिच लाई दिए माफी


काठमाडौँ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डार्क वेब मार्केटप्लेस सिल्क रोड का सञ्चालक रस उल्ब्रिच लाई पूरा र निशर्त माफी दिएका छन्। सिल्क रोड एक अवैध अनलाइन बजार थियो जसमा लागू औषध, हातहतियार र अन्य अवैध सामग्रीको किनबेच गरिन्थ्यो।

सिल्क रोड वेबसाइट २०११ मा स्थापित भएको थियो र यसले बिट्क्वाइनको माध्यमबाट अवैध व्यापारलाई सहुलियत प्रदान गरेको थियो। यसमा लागू औषध, पासपोर्ट, ह्याकिंग उपकरण, र अन्य अवैध वस्तुहरू बिक्री हुन्थे। रस उल्ब्रिच वेबसाइटको संस्थापक र प्रमुख संचालक थिए।

२०१५ मा न्यूयोर्क अदालतले उल्ब्रिचलाई लागू औषध र सम्पत्ति शुद्धिकरणको अभियोगमा आजिवन काराबास को सजाय सुनाएको थियो। उनले बिट्क्वाइन प्रयोग गरेर अवैध व्यापार गरेको र ह्याकिंग र पासपोर्ट चोरीको आरोप पनि लागेको थियो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्ब्रिचलाई माफी दिने निर्णय गरेका छन्।

यसबारे ट्रम्पले आफ्नो टुथ सोसल (सामाजिक सञ्जाल) मा पोष्ट गरेर माफी दिइएको जानकारी दिएका थिए। ट्रम्पले उल्ब्रिचको आमासँग यो विषयमा कुरा गरेको र उनलाई माफी दिने निर्णय भएको बताएको छ। २०१३ मा उल्ब्रिचको गिरफ्तारी पछि, सिल्क रोड अनलाइन बजार बन्द भएको थियो।