काठमाडौं, १९ माघ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले माघ १९ गतेलाई कालो दिनको रुपमा चित्रण गरेका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गते शाही शासन सुरु गरेको र माघ २९ गते आफूलगायत केही साथीहरुलाई ४७ दिनसम्म थुनामा राखेको पनि बस्नेतले स्मरण गराएका छन् ।
उनले शाही कदमको दुस्चक्र र माओवादीको सामाजिक फाँसीवादको विरुद्ध आफूहरु सबैले कठोर संघर्ष र बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको दाबी गरेका छन् । सञ्जालमा बस्नेतले लेखेका छन्-
आज माघ १९ अर्थात् नेपाली राजनीतिमा प्रजातान्त्रिक व्यवस्थाको अन्त्यगरी तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही सम्बोधनमार्फत् शासनसत्ता आफ्नो हातमा लिएको दिन । सो दिनलाई ‘राजनैतिक कु’ को कालो दिनको रूपमा समेत लिइन्छ ।
ज्ञानेन्द्र शाहको राजा बन्ने महत्वाकांक्षामा माघ १९ गते शाही शासन सुरु गरिसके पछाडि म लगायत साथीहरुलाई माघ २९ गते गिरफ्तार गरी ४७ दिनसम्म थुनामा राखेको थियो। शाही कदमको त्यो दुस्चक्र र माओवादीको सामाजिक फाँसीवादको विरुद्ध हामीहरु सबैले कठोर संघर्ष र बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं ।
सुधार्नुपर्ने नीतिगत कार्यहरु र सुशासनका धेरै विषयहरू छन्। त्यसलाई सुधार्दै मुलुकको समृद्धि तर्फ लाग्ने हो। आफूलाई वैकल्पिक भनेर दाबी गरेर आएका अराजक ठग र अपराधीहरू यो व्यवस्थाको विकल्प हुन सक्दैनन् फेरि पनि जनताले आशा र उर्जा जगाउँदै सम्बृद्ध नेपाल र सुखी नेपालको अभियान चलाउने अभिभारा हाम्रो काँधमा आएको छ। यसलाई जसरी पनि पूरा गर्ने हो।
प्रतिक्रिया