काठमाडौं – पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारको विषयमा उत्पन्न विवाद समाधानका लागि सरकारले आन्दोलनरत पक्षसँग छलफल गरी ६ बुँदे महत्त्वपूर्ण सहमति जुटाएको छ। गृह मन्त्रालयबाट गठित वार्ता टोली र आन्दोलनरत विभिन्न पक्षबिच भएको वार्तामा पाथीभरा केवलकार स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने निर्णय गरिएको छ। स्टेसनसँग सम्बन्धित थप विषयमा आगामी माघ २७ गते विस्तृत छलफल गर्ने सहमति भएको छ।
सहमति अनुसार, आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्नेछ। त्यसैगरी, माघ १२ गते भएको घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्ने निर्णय भएको छ।
आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूलाई विना सर्त रिहा गर्ने प्रक्रिया अघि बढाइने छ भने मुक्कुम्लुङ संरक्षक पक्षले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिने सहमति भएको छ। त्यसैगरी, पाथीभरा केवलकार आयोजनाका असहमति र अन्य विवादित विषयमा माघ २७ गते बिहान ११ बजे पुनः वार्ता गरिने तय भएको छ।
पाथीभरा केवलकार निर्माणलाई लिएर स्थानीय समुदाय, संरक्षणवादी समूह तथा विभिन्न किरात लिम्बु संस्थाहरू असन्तुष्ट रहँदै आएका छन्। गत माघ १२ गते केवलकार निर्माण स्थलमा भएको झडपपछि पूर्वी नेपालमा तनाव चुलिएको थियो।
प्रतिक्रिया