काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले नागरिकलाई दुःख दिइरहेको आरोप लगाएका छन्। उनले सरकारको कार्यशैलीलाई निरंकुश र दमनकारी बताउँदै, कडा मुद्दा लगाइरहेको घटनालाई अत्यधिक घमण्ड र डरको संकेत मानेका छन्।
प्रचण्डले रास्वपा सभापति रवि लामिछानेतर्फ संकेत गर्दै भने, “सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ। यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो?”
सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्लामा मुद्दा दायर गरिएको छ, र उनलाई बयानका लागि एक जिल्लाबाट अर्को जिल्लामा पुर्याउने गरिएको छ। यसै घटनालाई लिएर सरकारको आलोचना भएको थियो।
प्रचण्डले सरकारले राजनीतिक प्रतिशोधको लागि राज्यको दुरुपयोग गर्न थालेको र नागरिकलाई दुःख दिन खोजेको आरोप लगाउँदै, पाथिभरा केवलकारको विवादमा झडप हुँदा प्रहरीले गोली चलाएको र सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको घटनासमेत जोड्दै सरकारको दमनकारी नीतिलाई आलोचना गरे।
प्रचण्डले सोधेका थिए, “यो के हो? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईहरु? संविधानभन्दा माथि हो? तपाईहरु मालिक र नागरिक दास हो?”
प्रतिक्रिया