राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरिबन्धु टी इस्टेट र वाइडबडी घोटालाको छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गरेको छ। बिहीबार प्रतिनिधि सभा विशेष समयमा बोल्दै रास्वपा सांसद सोबिता गौतमले प्रश्न उठाएपछि संसदीय छानबिन समिति गठनको नजिर सदनले स्थापित गरेकोले दुबै घोटालाको छानबिन गर्न समिति बनाउने माग गरेकी छन्।
सांसद गौतमले भनिन्, “जनताले गम्भीर प्रश्न उठाएका छन्, गिरिबन्धु र वाइडबडी घोटालामा संसदीय छानबिन समिति किन नबनाउने?” उनले तत्कालका लागि आफ्नो पार्टीले यी दुई घोटालामा संसदीय छानबिन समिति गठनको जोडदार माग गरेको स्पष्ट पारेकी छिन्।
सांसद गौतमले रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको प्रसङ्गमा, राज्यले प्रतिशोधको आधारमा हजुरबुवाको सम्पत्ति समेत नछोडेको टिप्पणी गर्दै अन्य नेताहरूको सम्पत्ति पनि शुद्धिकरण गर्नुपर्ने माग गरिन्।
“यदि लामिछानेको सम्पत्ति परीक्षण हुँदैछ भने, जीवनभर कुनै पेशा नगरी राजनीति गर्ने, वर्षौंसम्म देशको नेतृत्व गर्ने नेताहरूको सम्पत्ति पनि परीक्षण गर्नुपर्ने छैन?” उनले प्रश्न गर्दै भने।
गौतमले सबै नेताहरूलाई सम्पत्ति छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिइन् र थप भनिन्, “सम्पत्ति शुद्धिकरण मुद्दा प्रधानमन्त्री मातहतको विभागले होइन, एक स्वायत्त आयोगले हेर्ने व्यवस्था गर्नु पर्छ।”
मनि लाउन्डरिङको अन्तर्राष्ट्रिय मूल्यांकनमा नेपाल ‘ग्रे लिस्ट’ निगरानी सूचीमा पुग्न लागेको बेला, यो छानबिनले देशको छवि सुधारमा योगदान पुर्याउन सक्ने उनको भनाइ थियो।
प्रतिक्रिया