इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड रुपैयाँ फिर्ता


काठमाडौँ- सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न प्रक्रिया सुरु गरिएको हो। ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख रुपैयाँ प्राप्त गरेका छन् भने गल्कोटका १४७ बचतकर्ताले रकम फिर्ता पाएका छन्। दुई दिनमै एक करोड रकम फिर्ता गरिएको जानकारी मञ्जु शर्मा चालिसेले दिइन्।

सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ताका लागि मिना ग्रुप कम्पनीसँग सहकार्य गरेर सम्झौता गरिएको छ। सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितहरूले मिलापत्र गरेपछि उनीहरूको बिगो रकम घटेको र सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ता प्रक्रिया अगाडि बढाइएको बताइएको छ।

यस प्रक्रियामा सहकारीका अध्यक्ष देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा छन्।