काठमाडौँ विश्वविद्यालयले विदेशमा अध्ययन पुरा गर्न नसकेका विद्यार्थीहरूलाई क्रेडिट ट्रान्सफरको अवसर दिने


काठमाडौँ- काठमाडौँ विश्वविद्यालयले विदेशमा अध्ययन पुरा गर्न नसकेका विद्यार्थीहरूलाई नेपालमै अध्ययन गर्ने अवसर प्रदान गर्ने निर्णय गरेको छ। यसका लागि विश्वविद्यालयले ओपन हाउस छलफलको आयोजना गरेको हो।

विदेशी विश्वविद्यालयमा अध्ययन गर्नका लागि विविध कारणले समस्या भोगिरहेका विद्यार्थीहरूलाई नेपालमै पढ्नको लागि क्रेडिट ट्रान्सफरको अवसर दिने योजना बनाइएको छ। फागुन १६ गते काठमाडौँ विश्वविद्यालयले यस विषयमा छलफल गर्न लागेको हो, जसमा योग्य विद्यार्थीहरूले क्रेडिट ट्रान्सफर र क्रेडिट सङ्कलन Credit Accumulation प्रक्रियामा भाग लिन सक्नेछन्।

यसअघि, पूर्वाञ्चल विश्वविद्यालयले पनि विदेशमा अध्ययन पूरा गर्न नसकेका विद्यार्थीहरूलाई क्रेडिट ट्रान्सफर गर्न दिने निर्णय गरेको थियो। हालै भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा भएको दमनपछि त्यहाँ अध्ययन गर्दै आएका नेपाली विद्यार्थीहरू नेपाल फर्किएका छन् र अब उनीहरूले आफ्नो अध्ययन नेपालमै पूरा गर्न चाहेका छन्।

विद्यार्थीहरूको समस्यालाई मध्यनजर गर्दै नेपाली विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफरको सुविधा दिन थालेका हुन्, जसले गर्दा विदेशमा अध्ययन पुरा गर्न नसकेका विद्यार्थीहरूले अब नेपालमै आफ्नो अध्ययन निरन्तरता दिन सक्नेछन्।