माओवादी पदाधिकारी बैठकमा पूर्वराजा ज्ञानेन्द्रको चर्चा


नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको अभिव्यक्तिबारे छलफल भएको छ । हिजो (सोमबार) पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पार्टी पदाधिकारी बैठक बसेको थियो । सो बैठकमा पार्टीले पूर्वराजाको अभिव्यक्तिबारे सामान्य ढंगले छलफल गरेको माओवादी सचिव लिलामणि पोखरेलले बताए । तर, एजेण्डा नै बनाएर भने पूर्वराजाको अभिव्यक्तिमा छलफल नभएको उनको भनाइ छ ।

‘पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यको बारेमा छलफल हुनु सामान्य कुरा हो । घटना परिस्थिति कहाँ के भइरहेको छ ? कसले के गरिराखेको छ भन्ने कुरा सामान्य ढंगबाट हुने कुरा हुन् । त्यसबारेमा के गर्ने भन्ने एजेण्डा नै बनेर भने छलफल भएको छैन । सूचनाहरु के–के छन् भन्ने कुरालाई मात्रै लिएर छलफल भएको हो,’– माओवादी सचिव पोखरेलले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै भने ।

त्यस्तै, बैटकमा पार्टीको तराइ–मधेश अभियानको बारेमा पनि छलफल भएको उनले बताए । पार्टी सचिव पोखरेलले भने, ‘हिजोको बैठकमा हामीले हाम्रो अभियानको मूल्याङ्कन गर्यौं । अहिले अभियानको पहिलो चरणमा मेचीदेखि महाकालीसम्मको अभियानको धनुषासम्मको अभियान हामीले सम्पन्न गरेका छौं । २२ गतेदेखि फेरि महोतरीबाट सुरुवात हुन्छ । त्यसमा के–कस्तो भयो ? संगठन परिचालनदेखि लिएर जनताको प्रतिक्रिया, कार्यकर्ताको प्रतिक्रियामा छलफल भयो ।’