लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन, विश्व शान्तिको कामना


विश्व शान्तिको कामनासहित लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ। चौथो त्रिपिटक पाठ समारोहको समापन लगत्तै शनिबार साँझ लुम्बिनी स्क्वायरको केन्द्रीय नहरको मध्यभागमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको हो।

धम्मकाय फाउन्डेसनले भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका लागि दीप प्रज्ज्वलन गरेको हो। दीप प्रज्ज्वलनको शुभारम्भ अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष धम्मशोभन महास्थविरले गरेका थिए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले कार्यक्रमको महत्त्वलाई रेखांकित गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्ज्वलन गरेर विश्व शान्ति र प्राणी जगत्को कल्याणको कामना गर्नु आफैँमा महत्त्वपूर्ण भएको बताए। उनले बुद्धका उपदेशहरूलाई आध्यात्मिक कार्यक्रमहरूबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा थाईधम्मकायका सल्लाहकार डा अदिसकले बुद्धको शिक्षाले विश्वबन्धुत्व र एकतालाई जोड दिएको उल्लेख गर्दै दीपले आन्तरिक र बाह्य ज्ञानलाई प्रतिविम्बन गरेको बताए। यसैगरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका सल्लाहकार रोशनी गिरी, अखिल नेपाल भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्रचार्यले दीपको प्रकाश जस्तै बुद्धका उपदेशले पनि अँध्यारो चिर्दै जाने बताए।