धनगढीमा कांग्रेस सभापति देउवाको स्वागत झन्डा हटाइयो


धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा सडकमा लगाइएका झन्डा आन्दोलनरत विद्यार्थीहरूले हटाएका छन्। भोलिदेखि सुदूरपश्चिम प्रदेशको नेपाली कांग्रेसको अधिवेशनको उद्घाटनका लागि देउवासहितका नेताहरू धनगढी आउँदा नेविसंघका विद्यार्थीहरूले पार्टीका झन्डा राखेका थिए।

तर, सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा आन्दोलनरत विद्यार्थीहरूले ती झन्डा हटाएका हुन्।

यो प्रदर्शन माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेता सन्तोष जोशी लगायतका व्यक्तिहरूको नेतृत्वमा भएको थियो। प्रदर्शनकारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका थिए र त्यहाँ सडकमा राखिएका झन्डा हटाइदिएका थिए।

नेविसंघका विद्यार्थीहरूले प्रदर्शनको विरोध गरेपछि केहीबेर सडक अवरुद्ध भएको थियो।