काठमाडौँको गोकर्णेश्वरमा एक महिलाको हत्यामा पाँच जना पक्राउ


काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित नामी कलेज नजिक बागमती खोलामा पानीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् कि पक्राउ पर्नेमा सर्लाही बागमती ढुङ्गेखोलाका कैलाश खड्का, मकवानपुर हेटौँडा शिखरपानीका सुरेश तामाङ, नुवाकोट मेघाङका रोशन तामाङ, सिन्धुपाल्चोक तिपिनेका पुजा परियार र एक नाबालक रहेका छन्।

महिला शव २४ फागुन, बिहान ११स्५० बजे बागमती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा फेला परेको थियो। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा ती व्यक्तिहरूको हत्यामा संलग्नता खुल्न आएको र उनीहरूलाई काठमाडौँ र अन्य स्थानबाट पक्राउ गरिएको छ।

अहिले आरोपीलाई काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।