काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाको राजनीतिक भविष्य त्यत्तिकै ओरालो लागेको होइन भन्ने उनी आफैंले पुष्टि गर्दै गएका छन् । विगतमा उनलाई तत्कालीन राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्दले ‘मुसा प्रवृत्तिको नेता’ भनेर कटाक्ष गरेका थिए । अर्थात् आफू चढेको पानीजहाजमा प्वाल पारेर डुबाउने अनि अर्को पानीजहाजमा हाम्फाल्ने प्रवृत्ति थापामा रहेको चन्दको कटाक्ष थियो । थापाले अहिले पनि त्यही चरित्रलाई निरन्तरता दिइरहेको हालैको घटनाले पुष्टि गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पुनःस्थापनाका लागि भन्दै अन्तिम धक्का दिन सबैले आफूलाई सहयोग गर्न आह्वान गरेका थिए । शाहको त्यो आह्वानपछि सबै राजावादी जुर्मुराए । कमल थापाले पनि त्यसदिनदेखि राजतन्त्रको गाथा गाउन थाले ।
पूर्वराजा शाह पोखराबाट काठमाडौं आउँदा स्वागत गर्न जुलुस लिएर पनि पुगे । तर जब शाहले नवराज सुवेदीको संयोजकत्वमा जनआन्दोलन समिति बनाए, तब हतार हतार थापाले आफ्नो नाम नसोधी राखेको भन्दै आपत्ति जनाए । उनले आफू सुवेदी नेतृत्वको जनअन्दोलन समितिमा बस्न नसक्ने भन्दै नाम फिर्ता लिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र केशरबहादुर विष्टले समेत नाम फिर्ता लिए । लिङ्देन, थापा, विष्टहरुले नाम फिर्ता लिएपछि अहिले राजावादी आन्दोलन शिथिल बनेको छ । पूर्वराजा शाह फेरि गोरखा जाने भएका छन् । गोरखामा उनले आफ्नो कुलदेवताको पूजाआजा गर्ने, पुख्र्यौली दरबारको अवलोकन गर्ने कार्यक्रम छ ।
राजसंस्था पुनःस्थापनाका लागि सुवेदी समूह र दुर्गा प्रसाई समूह मात्र भएपछि अहिले फेरि कमल थापाले निर्णायक आन्दोलन गरौं भन्दै अर्ती उपदेश दिन थालेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत थापाले राजसंस्था पुनःस्थापनाका लागि अनुकूल वातावरण बनिरहेको भन्दै अनावश्यक विवाद नझिक्न सल्लाह दिएका छन् ।
जबकि सुवेदी नेतृत्वको समितिबाट सुरुमै उनैले हो नाम झिकेको । ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति पहिलोपटक सबै पक्षको सहभागितामा नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएको छ। अनुकूल वातावरण बनिरहेको वर्तमान अवस्थामा अनावश्यक विवाद नगरौँ। एकजुट भई निर्णायक आन्दोलन गरौँ,’ थापाले लेखेका छन् ।
राजतन्त्रको नारा बोकेर राजनीतिको रोटी सेक्ने, गणतान्त्रिक व्यवस्थामा उपप्रधानमन्त्री र पटकपटक मन्त्री बन्ने अनि फेरि राजसंस्था चाहियो भन्दै हिँड्ने थापाप्रवृत्तिकै कारण जनताले राप्रपालगायतका दक्षिणपन्थी शक्तिलाई महत्व नदिएका हुन् । थापा आफैंलाई पनि नेपालमा राजतन्त्र पुनःस्थापना होला भन्ने विश्वास छैन । बरु उनी एमालेको चुनाव चिन्ह लिएर उठ्ने र मौका परे मन्त्री बन्ने दौडमा सामेल छन् ।






















प्रतिक्रिया