काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाइएको छ । पार्टीका प्रदेश सभा सदस्य इन्द्र बानियाँको नेतृत्वमा दर्ता अविश्वास प्रस्तावका पक्षमा २२ र विपक्षमा १५ मत परेको सांसद मीना पराजुलीले जानकारी दिइन् ।
पराजुलीले पहिले बानियाँको पक्षमा हस्ताक्षर गरेकी थिइन् । अहिले फेरि लामाको पक्षमा उभिएकी छन् ।
मंगलबार मकवानपुरको हेटौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा लामालाई उक्त पदबाट हटाउने प्रस्ताव पारित गरिएको हो । योसँगै अब संसदीय दलको नेता चयनको प्रक्रिया सुरु गरिने बागमती प्रदेशसभा सदस्य गोविन्द लम्सालले बताए ।
अब २२ मत पाएका बानियाँलाई दलको नेता बनाइने भएको छ । कांग्रेसको विधानमा दलको नेता प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने उल्लेख छ । त्यसैले अब बागमती प्रदेशको मुख्यमन्त्री बानियाँ बन्ने सम्भावना छ । बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । दुई वर्र्षअघि भएको दलको नेता निर्वाचनमा लामाले २१ र बानियाँले १६ मत पाएका थिए । अहिले बानियाँले २२ र लामाले १५ मत पाएका छन् ।
विश्वासको मतको पक्षमा समर्थन गर्ने सांसदमा ईन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तमाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङ छन् ।
विश्वासको मतको बिपक्षमा समर्थन गर्ने सांसदमा बहादुरसिंह लामा तामाङ, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, छेत्रबहादुर बम्जन, गीता गुरूङ, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी छन् ।














प्रतिक्रिया