काठमाडौं । भोटेकोसीमा फेरि भीषण बाढी आएको छ । बुधबार बिहान ३ बजेदेखि आएको बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।
बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली काठमाडौं प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–२ ल्हेन्दे खोलामा चीनतर्फबाट पानीको बहाव बढेर बाढी आएको र उक्त बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको हो । अहिले पनि बाढीको सतह उच्च नै रहेकाले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरिएको छ । साथै, खोलामा माछा मार्न जाने, बाढीमा बगेर आएका काठ दाउरा टिप्न जानेजस्ता कार्यहरु नगर्न आग्रह गरिएको छ ।














प्रतिक्रिया