काठमाडौं । नेपालले आगामी वर्ष इङ्ग्ल्याण्ड र वेल्समा आयोजना हुने टी–२० महिला विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ । महिला विश्वकप १२ जुनदेखि ५ जुलाई २०२६ सम्म इंग्ल्याण्ड र वेल्समा हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार विश्वकपको ग्लोबल छनोट नेपालमा हुने जनाएको हो । १० टोलीको सहभागिता रहने छनोट आगामी वर्ष १२ जनवरी देखि १६ फेब्रुअरीसम्म नेपालमा आयोजना हुने छ । प्रतियोगिताको खेल तालिका केही समयमै सार्वजनिक हुनेछ ।
ग्लोबल छनोटमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सको शीर्ष चार मा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
छनोटमा सहभागी १० टोलीमध्ये बंगलादेश र आयरल्याण्डले २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएकाले छनोटमा स्वतः स्थान हासिल गरेका छन् । एसिया छनोटबाट थाइल्याण्ड र नेपाल तथा अमेरिका क्षेत्रबाट अमेरिका छन् । बाँकी पाँच स्थान अफ्रिका र युरोपबाट दुई–दुई टोली र पूर्वी एसिया क्षेत्रबाट एक टोलीले स्थान बनाउने छन् ।














प्रतिक्रिया