कालीबाबाद्वारा पशुपतिमा खुर्सानी हवन, भक्तजन अचम्मित


साउन १४ गतेदेखि पशुपति क्षेत्रको हंसमण्डपमा सुरु भएको श्री दशमहाविद्या रूद्रहवन महायज्ञमा महामण्डलेश्वर कृष्णानन्द परमहंस स्वामी कालीदास (कालीबाबा) ले अनौठो शैलीमा खुर्सानी हवन गरेका छन्।

दक्षिण एशिया तथा विश्वभर प्रसिद्ध योगी कालीबाबाको उपस्थितिमा भइरहेको महायज्ञमा उनले सयौं भक्तजनको उपस्थितिमा खुर्सानी हवन गरेर विशेष आकर्षण सिर्जना गरेका हुन्।

महायज्ञ मूल समारोह समितिका संयोजक अशोक गौतमका अनुसार, कालीबाबा मंगलबार मात्र नेपाल आएका हुन् र उनी हंसमण्डपमै बसेर सम्पूर्ण कार्यक्रम सञ्चालन गरिरहेका छन्। महायज्ञमा भारतलगायत विभिन्न मुलुकबाट विशिष्ट पाहुनाहरू आउने तयारी भइरहेको समितिले जनाएको छ।

श्री दशमहाविद्या रूद्रहवन महायज्ञ साउन २४ गतेसम्म सञ्चालन हुनेछ।