काठमाडौं । यस वर्षको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा दर्शन र पूजाआराधनाका लागि भक्तजनको उल्लेखनीय घुइँचो लागेको छ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारैवटा ढोका भक्तजनका लागि खोलिएको छ। साउने झरीको समेत वास्ता नगरी श्रद्धालुहरू बिहानैदेखि दर्शनका लागि मन्दिर पुगेका छन्।
श्रद्धालुको सहज, सुरक्षित र व्यवस्थित दर्शनका लागि विशेष व्यवस्था गरिएको कोषले जनाएको छ। यद्यपि पदाधिकारी नियुक्तिमा ढिलाइ र जनशक्ति अभावका कारण आवश्यकताअनुसार सबै काम गर्न चुनौती रहेको सदस्य सचिव श्रेष्ठले स्वीकार गरेका छन्।
दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका पदाधिकारी तथा कर्मचारीसँगै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक संघ–संस्थाको सहभागिता रहेको छ।
कोषका अनुसार मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन्। विशेष पूजा बिहान ८:३० बजेदेखि मध्यान्ह १२ बजेसम्म मात्र सञ्चालन हुनेछ।
दर्शनका लागि चारवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजनको आगमन भए पनि लाम अत्यधिक नभएको जनाइएको छ। दर्शनार्थीका लागि प्राथमिक उपचारसहित आवश्यक सबै सेवा–सुविधाको व्यवस्था मिलाइएको कोषले जनाएको छ।
पशुपतिनाथसँगै गोकर्णेश्वर महादेव मन्दिर, डोलेश्वर महादेव मन्दिर, मक्खन महादेव मन्दिर लगायत राजधानीका अन्य प्रमुख शिवालय तथा देशभरका शिव मन्दिरमा पनि साउने पहिलो सोमबारका अवसरमा भक्तजनको ठूलो उपस्थिति रहेको छ।

















प्रतिक्रिया