काठमाडौं l नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो २५औं जन्मदिन विशेष तरिकाले मनाएका छन्। उनले जन्मदिनका अवसरमा त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानका स्टाफहरूसँग केक काटेर उत्सव मनाए।

जन्मदिनको अवसरमा मात्र सीमित नभई उनले मैदानका स्टाफहरूलाई आर्थिक सहयोग समेत गरेका छन्। सन्दीपले करिब ५० हजार रुपैयाँ प्रदान गर्दै उनीहरूको मेहनत र समर्पणप्रति कृतज्ञता व्यक्त गरे।

सन्दीप लामिछानेले आफ्नो सामाजिक सञ्जालमार्फत पनि जन्मदिनको तस्बिर र स्टाफहरूसँगको क्षण सेयर गर्दै भने, “यो मैदान र यसका स्टाफहरूले मेरो क्रिकेट यात्रामा ठूलो योगदान गरेका छन्, आजको दिन उनीहरूसँग मनाउन पाउनु मेरो लागि विशेष क्षण हो।”
सन्दीप हाल नेपाल क्रिकेटका सर्वाधिक लोकप्रिय खेलाडीमध्ये एक हुन्। उनले सन् २०१८ मा इन्डियन प्रिमियर लिग (IPL) खेल्दै अन्तर्राष्ट्रिय स्तरमा ठूलो पहिचान बनाएका थिए।














प्रतिक्रिया