काठमाडौं l निजी मेडिकल तथा डेन्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार विदेशी मेडिकल विद्यार्थी भित्र्याउन सके वार्षिक एक खर्ब रुपैयाँसम्म राजस्व आर्जन गर्न सकिने दाबी गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गत वर्ष पर्यटन क्षेत्रबाट करिब ७५ अर्ब रुपैयाँ मात्र राजस्व भित्र्याएको उल्लेख गर्दै मेडिकल पर्यटनलाई प्राथमिकतामा राखे नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए। “अहिलेको पूर्वाधारले ५ हजार विदेशी विद्यार्थी धान्न सक्छ, डबल सेसन लागू गरे १० हजारसम्म ल्याउन सकिन्छ,” बतासको भनाइ थियो।
उनले कोटा प्रणाली खुला गर्न, अनलाइन आवेदन प्रणाली लागू गर्न र सरकारी अस्पतालमा समेत डबल सेसन सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा नेकपा एमाले सांसद ईश्वरी घर्तीले चिकित्सा शिक्षामा गरिएको सरकारी लगानीलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसालले चाहिने मेडिकल जनशक्ति उत्पादनको अध्ययन गरी आवश्यकता भन्दा बढी मात्र बाहिर पठाउनुपर्ने र बरु विदेशी विद्यार्थी ल्याएर चिकित्सक उत्पादनमा जोड दिनुपर्ने धारणा राखे।
भुसालले “नो अब्जेक्शन लेटर” दिएर सहजै विद्यार्थी विदेश पठाउने प्रवृत्ति बन्द गर्नुपर्ने र यहीँ अध्ययन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।














प्रतिक्रिया