विश्वंश र अराजकता मच्चाउने २७ जना पक्राउ, बैंकबाट लुटेको ३३ लाख बरामद


काठमाडौं – नेपाली सेनाले मंगलबार राति काठमाडौं र पोखराका विभिन्न स्थानमा विध्वंश र अराजकता मच्चाउने २७ जनालाई पक्राउ गरेको छ ।

सेनाले मंगलबार राति १० बजेबाट देशैभर अन्य सुरक्षा निकायहरु परिचालन गरी बिहीबार बिहान १० बजेसम्म विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको जनाएको छ ।

काठमाडौँको गौशाला, चाबहिल, बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० रुपैयाँ बरामद गरिएको सेनाको भनाइ छ । यस्तै, काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार ३१ थान तथा म्यागजिन एवं गोलीगठ्ठा बरामद गरिएको जनाएको छ ।

सेनाले तीनवटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको भन्दै २३ जना घाइते नेपाल प्रहरी तथा तीनजना गैरसैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको जानकारी दिएको छ ।