काठमाडौँ l नेपालमा जेन जी पुस्ताको अभूतपूर्व आन्दोलन पछि उत्पन्न रिक्तता अन्त्य गरी मुलुकलाई ट्रयाकमा ल्याउन विभिन्न अगुवाहरुको नाममा बहस भै रहेको छ।
यसै पृष्ठभूमिमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले उज्यालो नेपाल अभियानका संस्थापक तथा अभियन्ता कुलमान घिसिङको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न सुझाव दिएका छन्।
सामाजिक संजालमा लेख्दै पुनले भने, “प्रधान सेनापतिज्यू जेन-जीका सम्पूर्ण भाइ बहिनीहरुलाई अनुरोध – अन्तरिम सरकारको प्रधान मंत्री चाहिं कुलमान घिसिङलाई बनाउन सुझाव दिन्छु किन भने प्रधानमंत्रीको काम भनेको मन्त्रालयका मंत्रीहरुलाई र सचिवहरुलाई भ्रस्टाचार रहित काम गर्न निर्देशन दिने हो। त्यो काम गर्न कुलमान घिसिङ सक्षम हुनु हुन्छ भन्ने कुरा सबै लाई थाहा छ। सुशीला कार्कीलाई नयाँ संविधानको खाका बनाउन र भ्रस्टाचार निर्मूल पार्ने कानून बनाउन जिम्मा दिए पुग्छ।”
यसैगरी विदेशमा रहेको नेपाली समुदायले पनि अहिलेको विषम परिस्थितिमा सबै पक्षलाई समेटेर निकास दिनको लागि घिसिङ नै उपयुक्त व्यक्तित्व भएको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए युके) का अध्यक्ष प्रेम गाहा मगरले नेपालमा अहिले देखिएको संवैधानिक रिक्तता जतिसक्दो चाडो अन्त्य गर्नु पर्ने नत्र देशकै अस्तित्वमाथि खतरा उत्पन्न हुन सक्ने बताए। “हामीले ‘सेभ द नेशन, बिल्ड द नेशन भन्ने अभियान सुरु गरेका छौं। भ्रस्टाचारमुक्त नयाँ नेपाल बनाउन उज्यालो नेपालका अभियन्ता कुलमान नै अहिले सबै पक्षलाई स्वीकार्य हुने उपयुक्त पत्र भएकाले उहाँलाई जिम्मेवारी दिइ सबैले सघाउनु पर्छ,” गाहा मगरले भने। उनले नेपालको नव निर्माण र पुनर्निर्माणमा प्रवासी नेपाली पनि साझेदार हुन् भन्दै जति सक्दो चाडो वंशजको नेपाली नागरिकताको निरन्तरताको व्यवस्था गरी सबै नेपाली नागरिकलाई राष्ट्र निर्माणमा सहभागी बन्ने वातावरण बनाउन पनि अपिल गरे।














प्रतिक्रिया