नेपालको निर्वाचन गराउन अमेरिका तयार


काठमाडौं । अमेरिकाले आगामी फागुनमा तय भएको आमनिर्वाचन सम्पन्न गराउन सहयोग गर्न आफू तयार गरेको जनाएको छ । आइतबार काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी यस्तो बताएको हो । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिँदै अमेरिकाले यो अवस्थामा आउन आन्दोलन गरेका युवा र अन्तरिम सरकार गठनका लागि सहजीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसासमेत गरेको छ ।

दूतावासले अन्तरिम सरकारले आगामी महिनाहरुमा नयाँ निर्वाचनको तयारी गर्नेक्रममा नेपालसँग अमेरिका सहकार्यका लागि तयार रहेको बताएको छ । यस्तै नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणकाललाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सम्मानसमेत गरेको छ । ‘हामी नेपालको क्षतिमा शोक मनाइरहँदा पनि लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्छौं।

हामी नेपाली सेना र प्रधानसेनापति जनरल अशोकराज सिग्देललाई व्यवस्था पुनर्स्थापित गर्न र नागरिक सरकारको शान्तिपूर्ण संक्रमणलाई सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्छौं। आगामी महिनामा अन्तरिम सरकारसँग काम गर्न तत्पर छौं किनकि उनीहरूले नयाँ चुनावको तयारी गरिरहेका छन्,’ दूतावासले विज्ञप्तिमा भनेको छ । सरकार गठन भएको तीन दिनमै अमेरिकाले फागुनमा हुने आमनिर्वाचनमा आफू सहयोग गर्न तयार रहेको घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ । सुशीला कार्की पश्चिमी देशको प्रयासमा प्रधानमन्त्री बनेको भन्ने आरोपलाई यसले बल पुर्याएको छ ।