रास्वपाको नाममा कसले दियो उद्योगी, व्यवसायी र न्यायालयलाई धम्की ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनमा आफू पनि स्टेक होल्डर भएको दाबी गरेको छ । केही दिनअघि उसले विज्ञप्तिमार्फत आफूहरूले सक्रिय सहभागिता जनाएको बताएको थियो । तर अहिले आफ्नो पार्टीको नाममा केही समूहले उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीहरूलाई धम्की दिइरहेको भन्दै रास्वपाले ध्यानाकर्षण भएको जनाएको छ।

यस्ता गतिविधिमा आफ्नो कुनै पनि संलग्नता नरहेको र दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको रास्वपाले जनाएको छ । पार्टीका प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै’ अवाञ्छित व्यक्तिहरूले रास्वपाको नाममा डर, त्रास र धम्कीपूर्ण टेलिफोन तथा मेसेज पठाउने गरेको जानकारी आएको उल्लेख छ।

‘विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ। रास्वपाले यस्ता आपराधिक गतिविधिमा आफ्नो वा पार्टीका कुनै पनि सदस्यको संलग्नता नरहेको बताएको छ।

पार्टीले आफूलाई यस्ता गतिविधिबाट पूर्ण रूपमा अलग राख्दै यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन र आवश्यक छानबिन गरी कडा कारबाही गर्न गृह मन्त्रालयलगायत सम्बन्धित सुरक्षा निकायहरूको ध्यानाकर्षण गराएको छ। जेनजी आन्दोलनका बेला भएका तोडफोड र आगजनीमा धेरै रास्वपाका नेता कार्यकर्ताको संलग्नता देखिएको छ । रास्वपाले त्यस्ता अवाञ्छित गतिविधिमा संलग्न रहेका नेता कार्यकर्तालाई कानुनी कारबाहीको माग गर्दै पार्टीबाटै हटाउने बताएको छ ।