काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । देश विषम र शोकको स्थितिमा रहेको उल्लेख गर्दै उनले विगतमा जस्तै यसपटक पनि आमनागरिकलाई टीका तथा जमरा प्रदान नगरिने जानकारी दिएका छन्।
पूर्वराजा ज्ञानेन्द्रले नेपालले आफ्नो बाटो आफैँ तय गर्नुपर्नेमा जोड दिएका छन्। उनले देशको राजकाज बिगार्न, भत्काउन र जलाउतिर बढी केन्द्रीत भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बडादशैंमा जारी गरेको शुभकामना सन्देशमा पूर्वराजा शाहले देशको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता र असन्तुष्टि व्यक्त गर्दै देशको राजकाज ‘बिगार्ने, भत्काउने र जलाउने’ तर्फ केन्द्रित भएको भन्दै अब सपना साकार पार्ने दिशामा अघि बढ्न आग्रह गरेका छन्।
‘बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खति परे। अब बिगार्ने होइन, सपनातिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ,’ सन्देशमा भनिएको छ, ‘कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैँ तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ ।’
शाहले पुर्खाहरूले त्याग र बलिदानबाट आर्जेको नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुतामाथि जोड दिँदै यसैको आधारमा नेपाल सधैँ स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा उभिएको बताएका छन्। उनले आफ्नो सन्देशमा युवा पुस्तालाई भविष्यको आधारस्तम्भको रूपमा व्याख्या गर्दै उनीहरूको ऊर्जा, देशभक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउन सक्ने विश्वास व्यक्त गरेका छन्।
‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ,’ उनले भनेका छन्, ‘विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नै पर्दछ। जे भयो भयो, जे जे नहुनु थियो त्यो सबै भयो, अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।’














प्रतिक्रिया