जेनजी आन्दोलनका भाइरल युवा यमबहादुरले गरे आफ्नै आमाको हत्या


काठमाडौं । जेनजी आन्दोलनका भाइरल युवाले आफ्नै आमाको हत्या गरेका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका यमबहादुर कँडेलले आफ्नै आमाको हत्या गरेका हुन् ।

आफूलाई जन्म दिने आमाको बीभत्स हत्या गरेको अभियोगमा कँडेल पक्राउ परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय कँडेल ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन् ।

यमबहादुरले आइतबार राति धारिलो हतियारबाट आमाको हत्या गरेको अनुसन्धानका क्रममा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले बताए । प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुर कँडेललाई नियन्त्रणमा लिएको थियो ।

यमबहादुर जेनजी आन्दोलनका भिडिओहरूमा निकै भाइरल भएका थिए । ‘मेरो आँखामा डर छ ? ल हेर्नुस् म डराएको छु म ? मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’ जस्ता डाइलग बोल्ने उनले आमाकै हत्या गरेर आफ्नो पासविक चरित्र देखाएको भन्दै सिंगो धादिङ स्तब्ध बनेको छ ।