घन्टीघरका घरबेटी देवकोटा भन्छन्, शेरबहादुरको घर त जलाए, मेरो के सुरक्षित रहला ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय रहेको घन्टीघरका घरबेटी भरतमणि देवकोटाले आफूलाई सुरक्षा थ्रेट रहेको भन्दै आफ्नो पीडा बुझिदिन पार्टीका नेताहरूलाई अनुनयविनय गरेका छन् । अमेरिकाबाट फर्केपछि केही मिडियासँग कुराकानी गर्दै उनले आफूले घर छाड्न तीन महिलाका लागि सूचना दिए पनि रास्वपाले चुनावसम्म पर्खन भनेको पनि बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा आफूलाई सुरक्षा थ्रेट आएको र त्यो कुरा पार्टीका नेताहरूलाई अवगत गराए पनि गम्भीरतापूर्वक नलिएको भन्दै आक्रोश व्यक्त गरे । ‘मलाई एकदम सुरक्षा थ्रेट छ । यो कुरा पार्टी र नेताहरूलाई जानकारी पनि गराएको छु । नेताहरूले फागुनको चुनावसम्म समय दिन भन्नुभएको छ । तर मेरो समस्या उहाँहरूले बुझ्नु भएन । शेरबहादुर देउवाको घर त जलाए, मेरो के बाँकी राख्लान् ? हामी दुई बुढाबुढी छौं । दुई तीनजना सुरक्षाकर्मीले मेरो घर बचाउँछन् भन्ने मलाई लाग्दैन । मेरो घर खाली गरे पुग्छ । पार्टी कार्यालय जहाँसुकै राखुन् मलाई मतलव भएन,’ उनले भनेका छन् ।

रास्वपाले एक वर्षदेखिको भाडा नतिरेपछि देवकोटाले तीन महिनाभित्र घर खाली गर्न समय दिएका थिए । रास्वपाले देवकोटालाई झन्डै ५० लाख रुपैयाँ तिर्नुपर्ने रहेको बताइन्छ । देवकोटा आफैं रास्वपामा आबद्ध छन् ।

भदौ २३ र २४ को जेनजी आन्दोलनमा घुसपैठ गरी राज्यका संरचना र व्यक्तिका घर जलाउनेमा रास्वपाका नेता कार्यकर्तासमेत देखिएपछि घन्टीघर जलाउने थ्रेट आएको देवकोटाले निकटहरुसँग भन्ने गरेका छन् ।