कतारलाई हराउँदा सन्दीप लामिछानेले आफूलाई प्रमाणित गरे उत्कृष्ट बलर


काठमाडौँ । ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी २० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा सोमबार भएको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गराएको हो ।

आइतबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ दशमलव पाँच ओभरमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानले पाँच विकेट लिए । नन्दन यादवले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए भने गुल्शन झाले १६ रन जोडे । कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान तीन तीन विकेट लिए भने मुहम्मद असिमले १ विकेट लिए । सोमबार कतारविरुद्ध पनि उस्तै कथा दोहोरियो।

नेपालले सुरुमै विकेट गुमायो र ४८ रन बनाउँदा ३ जना ब्याट्सम्यान आउट भइसकेका थिए। त्यसपछि कप्तान रोहित पौडेलले जिम्मेवारीपूर्वक ब्याटिङ गरे। उनले ५८ रनको महत्त्वपूर्ण पारी खेले। उनलाई दीपेन्द्रले साथ दिए र इनिङ्स सम्हाले। तर, फेरि पनि नेपालले सोचेजस्तो ठूलो स्कोर बनाउन सकेन र १४७ रनमा समेटियो।

१४८ रनको लक्ष्य पछ्याएको कतारले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गर्यो। फेरि पनि नेपाल हार्ने पक्कापक्की भइसकेको थियो। समर्थक निराश बनिसकेका थिए भने खेलाडीहरूमा पनि विकेट नआएकाले नैराश्यता प्रष्टै देखिन्थ्यो। तर, यसपटक नेपाललाई खेलमा फर्काउने काम लेग स्पिनर सन्दीप लामिछानेले गरे।

उनले पहिलो विकेट लिएर साझेदारी तोडे । त्यसपछि नन्दन यादवको ओभरमा दीपेन्द्रसिंह ऐरी र मोहम्मद आदिल आलमले लगातार दुईवटा रनआउट गरेर खेलमा दबाब बढाए। सन्दीपले आफ्नो अनुभव प्रयोग गर्दै कसिलो बलिङ गरे। अन्तिम ओभरको पहिलो दुई बल डट खेलेका उनले तेस्रो बलमा अमिर फारुकको रुपमा नवौं विकेट लिए। त्यो ओभरमा सन्दीपले जम्मा तीन रन दिएर दुई विकेट लिए, र नेपाललाई पाँच रनले जिताए। यो खेलबाट सन्दीपले आफूलाई भरपर्दो र अनुभवी बलर सावित गरेका छन् ।