काठमाडौं – सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड राख्दै आएको छ । नेपाली बजारमा सुनको मूल्य बिहीबार तोलामा दुई हजारले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भएको छ । जुन हालसम्मकै उच्च हो । बुधबार तोलामा दुई लाख ४८ हजार नौ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।
भदौ मसान्तमा सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार दुई सय रुपैयाँ थियो । त्यसअनुसार असोजको ३० दिनमा मात्रै सुनको मूल्य ३५ हजार सात सय रुपैयाँले बढेको छ । यसरी मूल्य बढ्दा पनि सुनको माग भने घटेको छैन ।
आजभन्दा ६ वर्षअघि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६० हजार हाराहारी थियो । ०७६ असारसम्म सुनको मूल्य उक्त रेन्जमा थियो । विभिन्न घटनाक्रमले त्यो मूल्य बढ्दै अहिले साढे दुई लाख रुपैयाँनजिक पुगेको छ । तर, अहिले भने सुनको माग पनि उच्च भएको छ ।














प्रतिक्रिया