काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवा दम्पती हिँडेका देखिन्थे । तर सिंगापुर विमानस्थलबाट बाहिरिने क्रममा देउवा र पत्नी आरजु राणा ह्विलचेयरमा देखिएका थिए । आरजु मोबाइलमा व्यस्त देखिन्थिन् । विमानस्थलमा ह्विलचियरमा किन बसेको हुन् भन्ने केही खुलेको छैन ।
जेनजी आन्दोलनका बेला भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि निर्मम कुटपिट भएको थियो । घरमा आगजनी गरी प्रदर्शनकारीहरूले उनीहरूलाई गम्भीर घाइते बनाएका थिए ।
देउवा दम्पती असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट सार्वजनिक भएका थिए । त्यसपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर देउवा उपचारका लागि पत्नीसहित सिंगापुर गएका हुन् । सिंगापुरमा थप उपचार गरेपछि देउवा दम्पती स्वदेश फर्किने कार्यक्रम छ । आफ्नो घर आगो लगाइएपछि अहिले उनीहरू चण्डोलस्थित भान्जाको घरमा बसेका छन् ।














प्रतिक्रिया