दल खोल्दै कुलमान, नाम र चुनाव चिन्ह फिक्स


काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले नयाँ दल दर्ता गर्ने भएका छन् । जेनजीका मुद्दा उठाउँदै उनले नयाँ दल खोल्न लागेका हुन् । त्यसका लागि आन्तरिक गृहकार्य तीव्र पारेको उनी निकट नेताहरुको भनाइ छ । कुलमानले नयाँ पार्टी बनाएर आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने तयारी गरेका छन् ।

रास्वपा छाडेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ,, सागर ढकाललगायतलाई समेटेर घिसिङले दल खोल्न लागेको बुझिएको छ । बुझिएअनुसार केही दिनमै नाम टुंगो लगाएर निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिने तयारी छ । पार्टीको नाम ‘उज्यालो नेपाल पार्टी’ र चुनाव चिन्ह ‘बिजुलीको चिम’ राख्ने मोटामोटी सहमति भइसकेको बताइन्छ ।

केही दिनअघि बालुवाटारमा जेन(जी अगुवाहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई चुनाव लड्ने हो ? भनेर सोधेकी थिइन् । उनले प्रष्ट जवाफ दिएका थिएनन् । चुनावमा भाग लिनकै लागि उनले मन्त्रीबाट राजीनामा दिने बताइन्छ । डेडिकेटेड र ट्रंकलाइन विवादका कारण कुलमान विवादमा तानिएका छन् ।

आफ्नो स्वार्थ पूरा गर्न हजारौं मजदुरको भविष्य बर्बाद पार्न खोजेको र नेपालमा लगानीको वातावरण बन्द गराउन लागेको आरोप उनीमाथि लागेको छ । घिसिङको नेतृत्वमा रास्वपा पुर्नगठन गर्न लागेको चर्चासमेत चलेको छ ।

यो प्रक्रियामा लागेका रास्वपाका केही नेताले नक्खु कारागारमा रहेका सभापति रवि लामिछानेसँग केही चरण छलफल पनि गरेका थिए ।तर, रविले नेतृत्व छोड्न आफू जेलमुक्त हुनुपर्ने सर्त राखेपछि घिसिङ नयाँ पार्टी खोल्ने तयारीमा लागेको बताइन्छ । कात्तिकभित्रै उनले दल निर्वाचन आयोगमा दर्ता गराउने निकटस्थहरुले बताएका छन् ।