काठमाडौं । जेनजी आन्दोलनमा आफ्नो निजी निवासमा आगजनी खेपेका कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई अर्को समस्या थपिएको छ । नेपाल स्काउटले आफ्नो जग्गामा निर्माण भएका संरचना र सो संरचनामा रहेका मालसामान जफत गर्ने चेतावनी दिएको छ । स्काउटले बिहीबार सूचना जारी गर्दै आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचनाको बहालको बक्यौता रकम सात दिनभित्र तिर्न ताकेता गरेको हो ।
बक्यौता रकम सात दिनभित्र नतिरे अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामान जफत गर्ने स्काउटको प्रधान कार्यालयले चेतावनी दिएको छ । स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको छ । कम्पनीले अझै ६ करोडभन्दा बढी भाडाबापतको रकम तिर्न बाँकी रहेको बुझिएको छ । खड्का ल्याण्ड डेभलपमेन्टले भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयबाट मुचुल्का गरी सिलबन्दी गरिए पनि खड्का ल्यान्डले भोगचलन गरेपछि सात दिनको समय दिएर बक्यौता तिर्न अल्टिमेटम दिइएको हो । सूचनामा भनिएको छ, ‘समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र त्यस खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि.बीच भएको सम्झौताको बुँदा नम्बर ४ बमोजिम र मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १२ दफा ६१९ ६२० (४) २६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरघराना वा जायजेथाबाट असुल उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ।’
नेपाल स्काउट ऐन, २०५० द्वारा नेपाल स्काउटको स्थापना भएको हो । नेपाल स्काउट र खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.बीच २०६५ सालमा ३ रोपनी जग्गा (हाल लैनचौर बैक्वट सञ्चालन भइरहेको स्थान) १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराइएको थियो । सम्झौता अवधिभन्दा बढी समय कम्पनीले स्काउटको जग्गा भोगचलन गर्दै आएको सूचनामा उल्लेख छ ।














प्रतिक्रिया