सुमनापछि सन्तोष परियारले पनि रास्वपा छाडे


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडेका छन् । उनले पार्टी केन्द्रीय सदस्यबाट दिएको राजीनामा पत्र कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।

परियार विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक थिए । पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहस चलाउनेमा परियार पनि थिए । हालै चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको मागसमेत राखेका थिए ।

केही समयअघि सुमना श्रेष्ठले रास्वपा छाडेकी थिइन् । उनी नयाँ पार्टी खोल्ने अभियानमा छिन् । रास्वपालाई अहिलेको अवस्थामा ल्याउनेमा परियार पनि एक हुन् । पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले बताएका छन् ।

स्रोतका अनुसार परियार माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने जनाइएको छ।


निकट भविष्यमै रास्वपाबाट अरु ठूला नेता पनि बाहिरिने तयारीमा छन् । स्रोतका अनुसार डा.तोसिमा कार्की र गणेश कार्की पनि रास्वपामा वाक्कदिक्क भइसकेका छन् । तोसिमाले नेतृत्व परिवर्तन नगरे रास्वपा चल्न नसक्ने बताउँदै आएकी छन् ।

रास्वपा प्रवक्ता मनिष झाले परियारले पार्टी छाडेको जानकारी दिए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्वसांसद साथै विघटित प्रतिनिधिसभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारज्यूले कार्यवाहक सभापति तथा महामन्त्रीज्यू लाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ। राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनुभयो। आगामी यात्राको लागि उहाँलाई शुभकामना,’ झाले भने ।