फागुनको चुनावका लागि दल दर्ता गर्दै एमाले, यस्तो छ भित्री खेल


काठमाडौं – कांग्रेसले आगामी फागुन २१ गते तोकिएको आमनिर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । कांग्रेस चुनावबाट पछि हटेको भन्ने ढंगले प्रचार गर्न थालिएपछि कांग्रेस केन्द्रीय समिति बैठकले औपचारिक रूपमा चुनावमा सहभागी हुने निर्णय गरेको हो । कांग्रेसको यो निर्णयसँगै अब एमालेले उठाउँदै आएको प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा कमजोर भएको छ ।

प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । उसले आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य गरेको छ । अहिलेको सरकार संविधानबाहिरबाट गठन भएको आरोप लगाए पनि एमालेले चुनावकेन्द्रित सरकारी बैठकमा भाग लिँदै आएको छ ।

पुनर्स्थापनालाई प्रमुख मुद्दा बनाइरहेको एमालेले आयोगमा चुनावी प्रयोजनका लागि दल दर्ताको तयारी गरेको हो । एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले दल दर्ताका लागि तयारी भएको बताए । ‘एमाले संवैधानिक पार्टी हो । त्यसैले हामी आफ्ना इन्स्टिच्युसनहरूलाई अद्यावधिक गर्छौँ,’ उनी भन्छन्, ‘तर, नहुने चुनावको पछि लाग्दैनौँ ।

एमालेले बाहिर बाहिर प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा उठाए पनि भित्रभित्रै चुनावको तयारी गरेको नेताहरूको भनाइ छ । केपी ओलीलाई १५औं महाधिवेशनबाट पुनः तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेपछि मात्रै एमालेले औपचारिक रूपमा चुनावमा जाने घोषणा गर्ने बुझिएको छ ।

एमालेको १५औं महाधिवेशन मंसिर २७ गत काठमाडौंमा हुँदैछ । ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा चुनौती दिने भएका छन् । तर पनि माहोल हेर्दा ओली सहजै ढंगले अध्यक्ष बन्ने देखिएको छ ।