काठमाडौं – नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । प्रतिनिधिसभाको निर्वाचन फागुन २१ र राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ । कांग्रेसमा अहिले देखिएको महाधिवेशनको विवाद चुनावमा टिकट बाँड्ने विषयले भएको सबैले बुझेका छन् ।
नियमित महाधिवेशन वा विशेष महाधिवेशन केमा जाने र कहिले गर्ने भन्नेबारे अझै निर्क्यौल गर्न नसक्नुको मुख्य कारण चुनावमा आफूले टिकट पाउनुपर्ने र कसलाई टिकट दिने भन्ने सिफारिस गर्न पाउनुपर्ने सभापति शेरबहादुर देउवा निकट नेताहरुको अडान छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेपछि कांग्रेस केन्द्रीय समिति बैठक मंसिर ११ गते बस्दैछ । त्यही बैठकले नियमित वा विशेष महाधिवेशनमध्ये कुनमा जाने भन्ने निर्णय गर्ने नेताहरु बताउँछन् । कांग्रेस राष्ट्रिय सभा निर्वाचनको प्रयोजनार्थ आज निर्वाचन आयोगमा दल दर्ताका लागि जाँदै छ ।
असोज २८ गतेको केन्द्रीय समिति बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोके पनि कांग्रेस अप्रत्यक्ष रुपमा आगामी चुनावमा देउवाकै नेतृत्वमा होमिने अधिक सम्भावना छ । यसो गर्दा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको टिकट स्वतः देउवाको हातबाट मात्रै वितरण हुने पक्का छ ।
तर कांग्रेस नियमित वा विशेष महाधिवेशनमध्ये एकमा गएमा भने देउवाको दाउमा अंकुश लाग्ने छ । त्यही भएर उनी निकट नेताहरूले वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान लिएका हुन् । इतर पक्षलाई गलाउने खेल अहिले पनि जारी छ । सिंगपुरबाट फर्किएपछि अहिले दिनहुँजसो देउवा निवासमा नेताहरूको भिड लाग्न थालेको छ ।
भदौ २४ गतेसम्म कांग्रेससँग सत्ता गठनबन्धनमा रहेको एमाले निर्वाचनमा भाग लिनेबारे औपचारिक रुपमा बोलेको छैन । प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने नहुनेबारे केही नबताएका पार्टी अध्यक्ष केपी ओलीले हिजो राजधानीमा आयोजित कार्यक्रममा पनि संसद पुनर्स्थापनाको मागलाई दोहोर्याएका छन् । सडक आन्दोलनबाटै प्रतिनिधिसभा जगाउने अडानमा रहेको एमालेलाई कांग्रेसको हिजोको निर्णयले दल दर्तामा जानै पर्ने अवस्था उत्पन्न गराइदिएको छ ।














प्रतिक्रिया