काठमाडौं – एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतलाई आक्रमणको प्रयास गर्ने र उनको गाडीमा रातो रङ छ्याप्ने नेविसंघका नेता कारबाहीमा पर्ने भएका छन् ।
नेविसंघका सभापति दुजाङ शेर्पाले मोरङको विराटनगरमा नेता बस्नेत सवार गाडीमा आक्रमण गर्ने कार्यकर्तालाई कारबाही हुने बताएका छन् । नेविसंघको महेन्द्र मोरङ क्याम्पसका इकाइ सभापति सञ्जोग गौतम र सदस्य अर्पित कुँवरले बस्नेतमाथि आक्रमण प्रयास गरेको खुलेपछि शेर्पाले यस्तो घोषणा गरेका हुन् ।
आक्रमण गर्ने दुवैजना नेविसंघ कार्यकर्ता रहेको जानकारी कांग्रेसकै नेताहरूबाट प्राप्त भएको खुलाएका बस्नेतले बताइसकेका छन् । विराटनगर विमानस्थलबाट उत्रिएर युवा संघको कोशी प्रदेशस्तरीय भेलामा भाग लिन सुनसरीको इटहरीतर्फ जाने क्रममा बस्नेतमाथि आइतबार बिहान आक्रमण प्रयास भएको थियो ।
सुरूमा जेनजीको आक्रोशित समूहले आक्रमण गरेको बताइए पनि नेविसंघका नेताहरू जाइलागेको पाइएको छ । बस्नेतले आफूमाथि आक्रमण गर्नेलाई प्रहरीले तत्काल समातेकोमा धन्यवाद दिएका छन् ।














प्रतिक्रिया