कांग्रेसमा विशेष महाधिवेशनको एजेन्डा अझै जिउँदै


काठमाडौं । कांग्रेसले पुस २६–२८ मा १५औँ महाधिवेशन गर्ने निर्णय लिएको छ । महाधिवेशन मिति टुंगिएसँगै पार्टीभित्र नेतृत्व प्रतिस्पर्धा र ध्रुवीकरणको दौड तीव्र हुने भएको छ । महाधिवेशनको मिति टुंगिएसँगै कांग्रेसले कार्यतालिका पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत वडा अधिवेशन १६ पुसमा तथा गाउँ र नगरपालिकाको अधिवेशन १७ पुसमा गर्ने कार्यतालिका छ । १९ पुसमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ ।

एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय र जिल्ला अधिवेशन २१ पुसमा हुनेछ । दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ठाउँमा जिल्ला अधिवेशन २२ पुसमा हुने कार्यतालिमा उल्लेख छ । यसबाहेक २३ र २४ पुसमा प्रदेश अधिवेशन हुनेछ भने २६–२८ पुसमा १५औँ महाधिवेशन गरिनेछ । प्रवक्ता प्रकाशशरण महतका अनुसार वडा अधिवेशनअघि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यता टुंग्याउने निर्णय भएको छ ।

सदस्यता व्यवस्थापन समिति र सदस्यता छानबिन समितिले विवाद समाधान गरेपछि निर्वाचन समितिले अधिवेशन सुरु गर्ने उनले बताए । नियमित महाधिवेशनको मिति तय भइसकेपछि विशेष महाधिवेशनको हस्ताक्षर दर्ताबारे नेताहरूको मिश्रित धारणा छ । ‘हस्ताक्षरकर्ताहरूले महाधिवेशन समयमा हुनुपर्‍यो भन्ने माग गरेका थिए ।

हामीले पारित गरेको कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढ्ने भएकाले विशेष महाधिवेशनको कुरा अब गरिरहनुपरेन । यो स्वतः निष्क्रिय हुन्छ,’ प्रवक्ता महतले भने । तर, कांग्रेस केन्द्रीय सदस्य अजय सिवाकोटीले केन्द्रीय समितिमा सोमबार विशेष महाधिवेशनबारे छलफल नभएको र विधानतस् दर्ता भएको प्रस्ताव निष्क्रिय नभएको बताए ।

१५औँ महाधिवेशन समयमै नभए विशेष महाधिवेशनका लागि तयार रहनुपर्ने यो समूहको भनाइ छ । महामन्त्री विश्वप्रकाश शर्माले तोकिएको समयमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुने बताएका छन् । विशेष महाधिवेशन हस्ताक्षरकर्ता अभियानले सोमबार नै विशेष महाधिवेशनको च्याप्टर क्लोज नभएको र यसले वाच डगका रूपमा काम गर्ने जनाएको छ ।