काठमाडौं – नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर चुच्चे नक्सासहितको नयाँ १०० रुपैयाँको नोट सार्वजनिक गरेपछि भारतमा तरंग सिर्जना गरेको छ । खासगरी भारतीय मिडियामा यो विषयले धेरै प्राथमिकता पाएको छ । नेपालले भारतीय भूमिको नक्सा आफ्नो नोटमा राख्दा पनि सरकारले केही गर्न नसकेको भन्दै भारतीय मिडियाले यसलाई ठूलै रूप दिइरहेका छन् । सानादेखि ठूला मिडियामा यो विषयले राम्रै कभरेज पाएको छ ।
भारत सरकारले अहिलेसम्म औपचारिक रूपमा यसबारे कुनै प्रेस नोट सार्वजनिक गरेको भने छैन । विदेश मन्त्रालयका केही उच्च कर्मचारीले भने यस्ता दाबीले सत्य परिवर्तन नहुने भन्दै आपत्ति जनाएका छन् ।
भारतीय कांग्रेसले भने नेपाली सय रुपैयाँमा चुच्चे नक्सा समेटिएको विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयंशकरको आलोचना गरेको छ । उसले मोदीले गर्दा नेपालले १०० रुपैंयाँमा चुच्चे नक्सा राखेको आरोप लगाएको छ । कांग्रेस भन्छ, ‘कहिले चीनले अनि कैले नेपालले भारतको भूमि आफ्नो हो भन्दा पनि मोदी भने पोज पोजमा फोटो खिच्दै बसिरहेका छन् । मोदी सरकारको विदेश नीति सिर्फ रिलबाजीमा सीमित भएको छ ।
नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतले आफ्नो भूमि भनेर दाबी गर्दै आएको छ । उसले त्यही भूमिबाट चीनसँग द्विपक्षीय व्यापार पारवाहनको सम्झौता पनि गरेको छ । चुच्चे नक्सा नोटको बीचमा हल्का हरियो रंगमा छापिएको छ। नोटको बाँकी डिजाइनमा बायाँतिर सगरमाथा र दायाँतिर नेपालको राष्ट्रिय फूल (गुराँस) को वाटरमार्क छ। नक्साको छेउमा लुम्बिनीको अशोक स्तम्भ छ, जसमा बुद्धको जन्मस्थान लेखिएको छ। उल्टोतिर एक सिंगे गैंडा छ।
चार वर्षअगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा दुई रुपैयाँको सिक्का बजारमा आयो । सिक्कामा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) को चित्र छ । त्यो बेला खासै चर्चा भएन । अहिले सुशीला कार्की प्रधानमन्त्री भएका बेला नेपालको चुच्चे नक्सा भएको नयाँ सय रुपैयाँको नोट आयो । यो नोटमा भारतको आपत्ति देखिन्छ ।
अहिले भारत र चीनको सम्बन्ध नजिक–नजिक हुने क्रममा देखिएको छ । गत कात्तिकबाट भारत र चीनले पाँच वर्षको अन्तरालपछि सीमा हवाई सेवा सुरु गरे । भारतका प्रधानमन्त्री मोदीले गत भदौमा सात वर्षपछि चीनको भ्रमण गरेपछि यी प्रगति भएका थिए । भारत र चीनको गलवान भिडन्तमा भारतका २० र चीनका चार सैनिकको मृत्यु भएपछिको तनावमा भारत र चीन लयमा आउँदै थिए ।
तर, हालै अरुणान्चल मुद्दा आयो । बेलायतबाट जापान जान भनेर चीनको सांघाई हुँदै उडेकी अरुणान्चल जन्म ठेगाना भएकी भारतीय पासपोर्टधारी यात्रु पिमा वाङजोम थोङडोकलाई रोकेपछि तनाव सुरु भएको हो । चिनियाँ विदेश मन्त्रालयले पनि अरुणान्चल भारतको भूमि नभएर चीनको भूमि भन्यो । यसले भारत र चीनको न्यायो सम्बन्धमा दरार मात्रै ल्याएन, त्यहीबेला भारतको सीमा चीनले हडप्न खोजेको भन्दै आलोचना भए । त्यो घटना सेलाउन नपाउँदै नेपालको नयाँ नोट राष्ट्र बैंकले सार्वजनिक गर्यो । र यो विषय भारतमा मसला बनेको छ ।














प्रतिक्रिया