कोटेश्वरमा बन्ने भो अन्डरपास–फ्लाइओभर, जापानसँग ३१ अर्बको ऋण सम्झौता


काठमाडौं । कोटेश्वरमा अन्डरपास–फ्लाइओभर निर्माण गरिने भएको छ । कोटेश्वर इन्टरसेक्सन सुधार परियोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच बुधबार अर्थ मन्त्रालयमा ऋण सम्झौता भएको छ। सम्झौता हस्ताक्षर समारोहमा अर्थमन्त्री रामेश्वर खनालको उपस्थिति थियो। परियोजनाअन्तर्गत कोटेश्वर र जडीबुटी क्षेत्रमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ।

यसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्गतर्फ आउने–जाने यातायात सहज बनाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ। परियोजनाको कार्यान्वयन सडक विभागले गर्नेछ। सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत माएदा तोरुले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनिराम शर्मा र जेआईसीए नेपालका प्रमुख मित्सुजाकी मात्सुकीले हस्ताक्षर गरेका छन्। कोटेश्वरमा सवारीसाधको चापले घन्टौंसम्म यात्रुले समस्या भोग्नु परेको छ । कलंकी चोकमा अन्डरपास र ग्वार्कोमा ओभरपास निर्माण हुँदा सवारीसाधन जामको समस्या शून्य अवस्थामा पुगेको छ । सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ सहितका संरचना निर्माण गर्न जापानसँग ३१ अर्ब २ करोड रुपैयाँ ऋण लिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गर्न ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठनसमेत गरेको थियो ।

काठमाडौंको ट्राफिक व्यवस्थापनमा ठूलो समस्या बनिरहेको कोटेश्वर चोकको जाम हटाउन जापानी सहयोग नियोग (जाइका)ले २०७६ मा गरेको अध्ययनका आधारमा सरकारले फ्लाइओभर र सुरुङमार्ग बनाउने प्रक्रिया अघि बढाएको हो । सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरे पनि प्राविधिक रूपमा यसको टुंगो लागेको थिएन ।