काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा वहाल रहेका जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने भएको छ । विगतमा स्थानीय तह र राष्ट्रिय सभामा रहेका व्यक्ति राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने परम्परा थियो । तर यसपटक भने त्यसलाई रोक लगाइएको छ । कांग्रेसले थप परिपत्र गर्दै त्यसबारे प्रस्ट पारेको छ ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले उम्मेदवार सिफारिससम्बन्धी यसअघिको सूचनाले अलमल परेको भन्दै परिपत्रमा मातहतका कार्यसमितिहरूलाई राष्ट्रिय सभा र प्रदेश सभामा हाल बहालमा रहेका व्यक्तिलाई उम्मेदवारका लागि सिफरिस नगर्न भनेका छन् ।
‘राष्ट्रियसभामा हाल बहाल रहनुभएका माननीय सांसदहरूको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन,’ परिपत्रमा भनिएको छ, ‘प्रदेशसभामा हाल बहाल रहनुभएका प्रदेशसभा सदस्यहरूको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन ।’ कांग्रेसमा हाल तीन सयभन्दा बढी प्रमुख–उप्रप्रमुख छन् ।
यस्तै, राष्ट्रिय सभामा १७ सांसद र प्रदेशसभामा एक सयभन्दा बढी सांसद छन् । अब स्थानीय तहमा बहाल रहेका जनप्रतिनिधि प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ । त्यसका लागि कांग्रेसले सम्भावित उम्मेदवार सिफारिस गरेर पठाउन परिपत्र गरेको छ ।
प्रदेशसभा निर्वाचन–२०७९ मा समानुपातिकतर्फको बन्दसूचीमा समावेश भएका उम्मेदवारहरूको नाम पनि आसन्न निर्वाचनका लागि सिफारिस गर्न नपाइने परिपत्रमा उल्लेख छ । ‘तोकिएको संख्या भन्दा बढी नाम सिफारिस गरिएमा केन्द्रले त्यसको कार्यान्वयन नगर्ने व्यहोरा यसै परिपत्रमार्फत् प्रष्ट पारिन्छ,’ परिपत्रमा उल्लेख छ ।














प्रतिक्रिया