काठमाडौं । नेपालका १० उच्च पदस्थलाई १० दिनभित्र हत्याको धम्की दिने ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ को अध्यक्ष प्रकाश पाठक भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इमेलमा ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ को पत्र भारतबाट आएको खुलेको हो । पत्रमा सो संगठनको अध्यक्ष पाठक रहेको उल्लेख गरिएको छ ।
जसमा जेनजी आन्दोलनका बेला कारागारबाट फरार रहेका कैदबन्दी लगाएर हत्या गर्ने उल्लेख गरिएको थियो । अख्तियार प्रमुख प्रेमकुमार राईले आफूलाई आएको इमेल प्रहरीलाई जानकारी गराएपछि तीन जिल्लामा उच्च सतर्कताका साथै उच्च पदस्थको सुरक्षा बढाइएको थियो । सो संगठनले राईका साथै पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की, पूर्वमन्त्री रमेश लेखक, आरजु राणा देउवा, बालकृष्ण खाँण, दुर्गा प्रसाई, पूर्वआईजीपी ओमप्रकाश राणा, हेमबहादुर गुरुङलाई ज्यान धम्की दिइएको थियो ।
त्यसपछि उनीहरुको निवासदेखि कार्यक्रममा समेत प्रहरी परिचालन गरिएको छ। प्रहरीका अनुसार अध्यक्ष भनिएका पाठक हाल नेपालमा छैनन्। उनीसँग जोडिएका अन्य चारजनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । ‘अहिलेसम्म चारजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं। हाम्रो जानकारीअनुसार अहिलेसम्म पाठक देशभित्र भेटिएका छैनन्,’ एक प्रहरी अधिकृतले भने ।
प्रहरीले पाएको जानकारीअनुसार पाठक फिलिपिन्समा बस्दै आएका छन् । प्रहरीले पाठक नाम सार्वजनिक भएपछि उनीबारे जानकारी लिएको थियो। त्यसक्रममा प्रहरीमा उनीविरुद्ध केही उजुरीसमेत रहेको खुलेको थियो। ठगी र कुटपिटसहित चारवटा मुद्दामा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया