काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनबीच सातबुँदे राजनीतिक सहमति भएपछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ अब कसरी अघि बढ्लान् भन्ने चासो उत्पन्न भएको छ ।
लामो रस्साकस्सीबीच आइतबार बिहान ७ बजे रवि पार्टी सभापति नै रहने र बालेन आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने सहमति भएको छ । यसअघि शनिबार बिहानैदेखि बालेन मन्त्री कुलमान घिसिङसँग संवादमा थिए । बालेनसँग भेटेपछि घिसिङले उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक बोलाएका थिए । त्यहाँ रवि र बालेनको तर्फबाट आएको आगामी राजनीतिमा कसरी जाने भन्ने प्रस्तावबारे छलफल भएको थियो ।
उज्यालो नेपालको केन्द्रीय समितिले रवि लामिछाने पार्टी सभापति र बालेन आगामी प्रधानमन्त्री हुने प्रस्ताव अस्वीकार गरेको थियो । केन्द्रीय समिति बैठकपछि पनि बालेनले घिसिङलाई बालुवाटारस्थित एक घरमा भेट गरेका थिए । त्यहाँ सहमति हुन नसकेपछि बालेन रास्वपा नेता असिम शाहको कार्यालय पुगेका थिए । त्यहाँ लामिछानेसहितका नेताहरू सहभागी थिए । रवि र बालेनबीच सात बुँदे सहमति त्यही भएको हो ।
हिजोसम्म बालेनले आफूले कुलमानलाई मिलाउने भनेका थिए । तर आइतबारदेखि बालेन र कुलमानको बाटो अलग अलग भएको छ । तर पनि चुनावमा सहकार्य गरेर जाने बाटो भने बाँकी नै छ । कुलमानको पार्टीले दलहरूसँग वार्ता गर्दै निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको थियो । उज्यालो नेपाल पार्टीले त्रिपुरेश्वरमा पार्टी कार्यालय नै सञ्चालनमा ल्याइसकेको छ । कुलमानले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा उभ्याउँदै आएका छन् । तर उनी पार्टीको कुनै भूमिकामा भने छैनन् । त्यसैले अब कुलमानले कस्तो बाटो अख्तियार गर्लान् भन्ने चासो बढेको हो ।
रवि र बालेनले भने कुलमानको उज्यालो पार्टीसँग एकताको वार्ता गर्ने तयारी गरेको उनी निकट नेताहरुले बताएका छन् ।














प्रतिक्रिया