काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग सात बुँदे सहमति गरेसँगै काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेन स्वतन्त्र रहेनन् । अब उनी रास्वपाका एक साधारण सदस्य भएका छन् । रविसँगको सहमतिले उनी रास्वपामा आबद्ध भएको जनाउँछ ।
२०७९ को स्थानीय तहको निर्वाचनमा अन्य दललाई गाली गर्दै उनी स्वतन्त्र उठेर मेयरमा चुनाव जितेका थिए । तर चार वर्ष नपुग्दै उनले रास्वपाको बिँडो समाएका छन् । बालेन, हर्क साम्पाङ र गोपी हमाल स्वतन्त्र मेयर थिए । हर्कले पार्टी खोलिसकेका छन् । बालेन पनि रास्वपा प्रवेश गर्ने भएका छन् । त्यसैले हिजोको दिनमा स्वतन्त्रले मात्र राम्रो काम गर्न सक्छ भन्ने भाष्य खण्डित भएको छ ।
रास्वपा प्रवेश गर्ने निर्णय गरे पनि बालेन कुनै पनि जिम्मेवारीमा नबस्ने भएका छन् । बालेन निकट स्रोतका अनुसार पार्टीमा उनी कुनै पदीय जिम्मेवारी नलिने गरी साधारण सदस्यमा मात्र रहनेछन् । उनी पार्टीको दोस्रो वरीयतामा बस्ने छन् ।
रास्वपामा हाल सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले क्रमशः वरीयतामा छन् । सहमतिअनुसार बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने छ । फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावी मैदानमा जानेछ ।
बालेनसँग भएको सहमतिअनसार अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ । बालेन पक्षका व्यक्तिहरूलाई संलग्न गरेर त्यसको विवरण निर्वाचन आयोगमा अद्यावधिक गरिने भएको हो ।
बिहानीपख भएको सहमति बाहिर आएपछि बालेनका शुभचिन्तकहरुले सामाजिक सञ्जालमा उधारो प्रधानमन्त्री नगदमा परिणत नहुञ्जेल बालेनको हैसियत र भूमिका के ? भनेर सोधेका छन् । लिखित सहमतिअनुसार सहकारी ठगीको आरोपमा मुद्दा खेपिरहेका रवि रास्वपा सभापति कायम छन् । तर, रविले बालेनलाई चुनाव भएपछि प्रधानमन्त्रीको उधारो आश्वासन दिएको देखिन्छ ।














प्रतिक्रिया