काठमाडौं । चिकित्सक तथा सामाजिक अभियन्ता डा नवीन यादव युवा पुस्तामा चर्चित नाम हो । बंगलादेशबाट एमबिबिएस सकेर फर्केका उनी अहिले भक्तपुरस्थित नागरिक अस्पतालमा कार्यरत छन् ।
सर्लाहीका यादव मधेश प्रदेशकै सशक्त युवा हस्ताक्षर हुन् । विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका उनी नेपाल बंगलादेश विद्यार्थी मञ्चका पूर्वअध्यक्षसमेत हुन् । केही सयमअघि मात्र चिकित्सकीय पेसामा आबद्ध भएका उनी एमडी अध्ययनको तयारीमा छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनले राजनीतिको परिभाषा मात्रै परिवर्तन गरेन, कोर्ष करेक्सन नै गरिदियो । त्यही भएर जेनजी यादव संघीय सांसद बन्ने दौडमा सामेल भएका छन् ।
यादवलाई उनले गरेको सामाजिक कार्यको योगदानको कदर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले आफ्नो टिममा सामेल गराएका छन् । बालेन आइतबार मात्र रास्वपामा आबद्ध भएका छन् । बालेनले रास्वपामा करिब ४० प्रतिशत समानुपातिक सांसदको कोटा पाएका छन् । आफूले पाएको कोटामा बालेन टिमले डा.नवीन यादवलाई पनि समावेश गरेका छन् ।
जेनजी आन्दोलनका बेला यादव सिभिल अस्पतालमा कार्यरत थिए । त्यसबेलाको अवस्था देख्दा देशमा युवा अघि नबढेसम्म परिवर्तन नहुने निष्कर्षमा आफू पुगेको उनी बताउँछन् । रास्वपाले बालेनको मधेश फ्याक्टरलाई हेरेर आफ्नो पार्टीमा भित्र्याएको हो । डा.यादव सर्लाहीका हुन् । मधेश प्रदेशमा उनी आफ्ना सामाजिक, स्वास्थ्य, शिक्षालगायतका कामले चर्चित छन् । त्यही कारण पनि उनी बालेनको टिममा परेका हुन् ।
यादवको जेनजी सुधन गुरुङ, तनुजा पाण्डे, बब्लु गुप्ता, पुरुषोत्तम यादव, रक्षा बमलगायतसँग राम्रो सम्बन्ध छ । पछिल्लो समय मधेश प्रदेशबाट जो जो जेनजी अनुहार बनेर उदाएका छन्, तिनको तुलनामा यादव निकै परिपक्व युवा हुन् । देशको राजनीतिलाई ड्राइभ गर्ने बेला आइसकेको उनी बताउँछन् । उनीसँग नेपालको स्वास्थ्य क्षेत्रलाई कसरी बलियो बनाउने, नेपाली जनतालाई कसरी स्वस्थ बनाउने भन्ने भिजनसमेत छ । त्यसका लागि नयाँ ढंगले काम भइरहेको र चाँडै नतिजा दिने उनको भनाइ छ ।














प्रतिक्रिया