काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले सोमबार भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिने भएका छन् । दिउँसो १२ बजे उनी आयोगमा उपस्थित हुने लेखकको सचिवालयले जनाएको छ ।
लेखकलाई पुस ८ गते बयानका निम्ति आयोगले पत्राचार गरेको थियो । लेखकले कांग्रेस नेतृत्व र पदाधिकारीसँगको परामर्शपछि बयान दिन जाने निर्णय गरेका थिए । बयान दिएलगत्तै उनले आजै दिउँसो २ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।
आयोगले उक्त समयमा पदमा बहाल सरोकारवाला सरकारी अधिकारीहरूसित यसअघि नै बयान लिइसकेको छ । बयान लिन तत्कालीन प्रधानमन्त्री केपी ओली र लेखक मात्र बाँकी हुन् । बयानका निम्ति ओलीलाई पत्राचार गरिएको छैन ।
गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले त्यसक्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न आयोग बनाएको हो । दुई दिनका घटनामा ७६ जनाको मृत्यु भएको थियो ।














प्रतिक्रिया