‘देश बनाउन राजनीतिमा लागेर जेलनेल भोगेका र प्रोफेसनलहरुबीच फ्युजनको खाँचो छ’


म आज फरक ढंगबाट आफ्ना कुरा राख्न चाहन्छु । गत ३६ वर्षमा मुलुकले अर्थतन्त्रलाई केन्द्रमा राख्दा के हुदोरहेछ, नराख्दा के हुँदो रहेछ भन्ने कुरा राख्न चाहन्छु । २०४८ सालपछि बनेको सरकारले मुलुकलाई उदार अर्थतन्त्रको बाटोमा लैजाँदा अहिलेसम्म नेपालले प्राप्त नगरेको विकास र आर्थिक उपलब्धि छोटो समयमै पायो । त्यसपछि फेरि कहिल्यै अन्त्य नहुने सरकार पछि सरकार बन्ने ट्रेन्ड सुरु भयो ।

३५ वर्षमा ३५ सरकार बने । अनि मुलुक कहाँ पुग्यो भने एक तिहाई यो देशका जनता विदेशिए । रोजगारीको खोजीमा, सानातिना व्यवसायको खोजीमा अनि पढ्नका लागि विदेश जान बाध्य पारिए। भारतदेखि अस्ट्रेलिया, क्यानडा, अमेरिका जस्ता मुलुकका शैक्षिक संस्थानहरूमा नेपाली विद्यार्थीको ओइरो लाग्यो, जसबाट डेढ–डेढ खरब रुपैयाँको नेपालको पुँजी विदेश सिञ्चित भयो। तर नेपालमा कुनै पनि एउटा विदेशी शैक्षिक संस्थालाई नेपाल आउन रोक्न लाग्यो ।

विश्वका उत्कृष्ट कलेजहरुलाई नेपाल आउन नदिन सरकार लाग्यो । अपवादलाई छोड्ने हो भने शिक्षा मन्त्रालय र केहि शैक्षिक विचौलियाले यसमा काम गरे । जेनजी आन्दोलनको एउटा पक्ष भनेको ति युवाहरुको मनोविज्ञान बुझ्न नसकेको , अर्थतन्त्रलाई गति दिन नसकेको, देशभित्रै गुणस्तरीय शिक्षा दिन नसकेको, न्यूनतम रोजगारी दिन नसकेको परिणाम हो । यो जेनजी आन्दोलन पवित्र उद्धेश्य लिएर उठेको हो, देशभित्र पनि बाहिर पनि ।

आज देशलाई तहसनहस बनायो। राष्ट्रपति निवासदेखि संसद, संसददेखि सर्वोच्च अदालतसम्म खरानी बने । प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई हेलिकोप्टर रेस्क्यु गर्नुपर्ने अवस्थामा आयो। एक हिसावले भन्ने हो भने राज्यको सम्पूर्ण रुपमा सुरक्षा प्रणाली नै असफल हुनु हो । राज्यविहीनताको अवस्था सिर्जना भयो । बाँकी के रह्यो ? अझै पनि म के देखिरहेको छु भने मुलुक बनाउने भनेको जेलनेल भोग्नुभएका, ज्यानको बाजी लगाएर क्रान्तिमा होमिनुभएका, परिवर्तनका लागि लड्नुभएका व्यक्तिहरुले हो ।

अर्काेतर्फ स्रोतको परिचालन र व्यवस्थापन गरेर अर्थतन्त्रको म्यानेजमेन्ट गर्नसक्ने क्षमतावान व्यक्तिहरुले देश बनाउने हो । यसका लागि उनीहरुको फ्यूजन अनिवार्य चाहिन्छ । त्यो सामञ्जस्यता नहुनु, साझेदारीको अभाव हुनु आज मुलुका लागि दुर्भाग्यपूर्ण रह्यो। म दुखका साथ भन्दैछु, ननपोलिटिकल, प्रोफेसनल प्लेयरलाई पार्टीमा भित्राउन हाम्रो पार्टी अनुदार छ, ल्याटरल इन्ट्रीको विषयमा हाम्रो पार्टी अनुदार छ ।

हाम्रो पार्टी पटकपटक सरकारमा छ, आज प्रत्येक युवामा निराशा छाएको छ, बाहिर बसेका युवाहरु मात्रै होइन, उनीहरुको घरका मान्छेहरु पनि सरकारसँग सकारात्मक छैनन् । प्रत्येक युवाको मनमा रहेको निराशा, बढ्दो विदेश पलायनले ल्याएको सामाजिक बिचलन, परिवारको पीडाले उनीहरुमा अत्यन्तै निराशा छ । विदेशमा फोन आउँछ, उनीहरुकै फोनका आधारमा भोट खस्छ । हाम्रो भाषणले भोट खस्दैन । कतिपय पार्टीहरु त उनीहरुकै भोटका आधारमा बनेका छन् ।

आउने दिनमा हाम्रो प्रतिस्पर्धा भनेको त्यो निराश मानसिकतासँग हो । उनीहरुलाई आश जगाउने, उनीहरुलाई कुनै न कुनै रुपमा उत्साहित बनाउने हो । त्यसका लागि हामीले काम गर्नुपर्नेछ । निराश मानसिकतालाई आशा दिने, नयाँ जोश र शक्ति जगाउने प्रयोजनका लागि हामीले काम गर्नुपर्नेछ । नयाँ जेनेरेसनका लागि प्रेरणा दिनु हाम्रो दायित्व हो। जेनजीको आन्दोलनका नाममा राज्य आतंक फैलाउनेहरुको म कुरा गरिरहेको छैन । त्यसबाट म आफै पिडित हो ।

यसमा कतिपय पार्टीहरुको संलग्नता छ । कतिपय गुण्डाहरु र अपराधिहरु संलग्न छन् । तर अहिले पार्टीभित्रको लडाइ टिकट कसले बाँड्ने भन्ने हो, घुमिफिरी जसले जे भनेपनि । तर बहस कसले टिकट दिने होइन, कसलाई टिकट दिने हुनुपर्ने हो । हाम्रो बहस यतातिर हुनुपर्ने हो । हामी यस्तो मानसिकतासँग प्रतिस्पर्धा गर्न गइरहेका छौं, जसले तीन वटै दलहरुलाई रिजेक्ट गरिसके । ति दलहरुभित्र राम्रा मान्छेहरु पनि छन्, नराम्रा पनि छन् ।

एकसे एक त्याग गरेका मान्छेहरु पनि छन्, अनि एकदमै भ्रष्ट पनि छन् । तर भाष्य यस्तो बनाइएको छ कि यी पार्टीहरुबाट देशको कल्याण हुँदैन । यसका लािग हाम्रो रणनीति के हो ? हामीले स्वच्छ, सक्षम र योग्य व्यक्तिहरुलाई पार्टीमा प्रवेश गराउनुछ । यो काम अरु पार्टीले सुरु गरिसकेका छन् । पढेलेखेका, जिवनमा कुनै न कुनै क्षेत्रमा राम्रो काम गरेका, स्थापित अनि सफल व्यक्तिहरु समाजमा छन् । उनीहरुलाई पार्टीले चिनेर भित्राउनुपर्छ ।

जीवनभर राजनीति मात्रै गरेका, राजनीतिका लागि राजनीति गरेका मान्छेहरुलाई मात्रै प्राथमिकता राख्ने कि प्रोफेसनलहरुलाई पनि पार्टीमा स्थान दिने ? हाम्रो चिन्ता त्यतातिर भएको देख्दैन । नेपाली कांग्रेसलाई आउने दिनमा यस्तो रुपान्तरित पार्टीको रुपमा हेर्न चाहन्छु कि अब जनतामा नयाँ आशा ल्याउन सकोस् कि अब कांग्रेसले देशलाई समृद्धिको बाटोमा लैजान्छ भन्ने । आज नयाँ नयाँ पार्टीहरु खुलिरहेका छन् ।

उनीहरुलाई हाम्रो पार्टीमा किन बाटो बन्द गर्ने ? जेनजीका भावनाहरुको सम्बोधन गर्न हामी तयार छौं ? हाम्रो बहस त एउटै कुरामा केन्द्रीत भएको देख्छु । न नयाँ बहस, न चिन्तन । सही मान्छेहरूलाई जिम्मेवारी दिने, पार्टीको संस्कार कायम राख्ने र देशको हित सुनिश्चित गर्ने कुरामा कांग्रेसको प्राथमिकतामा हुनुपर्दछ ।

देशभित्र र बाहिर रहेका नेपालीहरुलाई अब कांग्रेसले केहि गर्छ भन्ने सन्देश दिन जरुरी छ । नत्र हामीले नयाँ स्वरुप दिन सकेनौं भने यो समस्याबाट फेरि पनि गुज्रिनुपर्ने हुन्छ । केन्द्रीय समितिको छलफलको विषय यसम केन्द्रीत हुनुपर्ने थियो । पार्टीमा नयाँ अनुहारलाई अगाडि सार्ने कि नसार्ने ? जेनजीदेखि अरु उमेर समूहका व्यक्तिहरुको भावनाको सम्बोधन गर्ने कि नगर्ने ? यसका लागि नयाँ जोस र जाँगर देखाउने कि नदेखाउने ? हामी जोसँग प्रतिस्पर्धा गरिरहेका छौं, उनीहरु यो बाटो अगाडि बढिसके ।

जुन प्रकारको उनीहरुको संगठन बनाउँदैछन्, जसरी नयाँ पूस्तालाइ समेट्दैछन्, हामीले पनि यसलाई अंगिकार गर्न ढिलो ग¥यौं भने जुनसुकै पक्षले जिते पनि पार्टी भने हार्ने निश्चित छ । यहि दृष्टिकोणबाट आगामी दिनमा नेपाली कांग्रेसले नयाँ ढङ्ग, नयाँ ऊर्जा, नयाँ जोश र नयाँ दृष्टिकोणका साथ प्रस्तुत हुनुपर्छ। म फेरि जोड दिन चाहन्छु, पार्टी नयाँ ढङ्गले जानुपर्छ, नयाँ ऊर्जा र जोश जागृत गराउनुपर्दछ । आगामी निर्वाचन र देशको भविष्यका लागि यस प्रकारको रणनीति र संगठनात्मक शक्ति आवश्यक छ। हाम्रो छलफल त्यसमा केन्द्रीत होस् भन्ने चाहन्छु । -बिनोद चौधरी