अमेरिका भ्रमण विवादपछि एनआरएनएले माग्यो मन्त्रि बब्लुसंग माफी


गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग औपचारिक रूपमा माफी मागेको छ। अमेरिकास्थित राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी अमेरिका) का तर्फबाट सार्वजनिक भएका दुई फरक–फरक विज्ञप्तिका कारण मन्त्रीको अमेरिका भ्रमण र त्यससँग सम्बन्धित कार्यक्रमबारे अनावश्यक भ्रम उत्पन्न भएको भन्दै संघले खेद व्यक्त गरेको हो।

एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष डा. बद्री केसीद्वारा जारी संयुक्त विज्ञप्तिमा उक्त घटनाप्रति दुःख व्यक्त गर्दै संघको आधिकारिक धारणा स्पष्ट पारिएको छ। विज्ञप्तिमा भनिएको छ कि असमन्वयका कारण सम्बन्धित सरकारी निकाय, सञ्चार माध्यम तथा नेपाली समुदायमा पर्न गएको कुनै पनि प्रकारको असहजता र भ्रमप्रति एनआरएनए क्षमाप्रार्थी छ।

संघले भविष्यमा यस्ता विषयमा थप स्पष्टता, समन्वय र जिम्मेवार संप्रेषणमा विशेष ध्यान दिने प्रतिबद्धता पनि जनाएको छ। एनआरएनएले आफ्नो कदमले कसैलाई पनि अपूरणीय क्षति पुगेको भए त्यसप्रति गहिरो दुःख व्यक्त गर्दै आपसी समझदारी र सहकार्यलाई अझ मजबुत बनाउने उल्लेख गरेको छ।