गगन थापा पक्षले आधिकारिकता पाउने डरले देउवाका कार्यकर्ता मुठभेडमा उत्रिए, नाराबाजी गर्दै


काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिएका छन् । निर्वाचन आयोगमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षसँग बहस चलिरहेका बेला बाहिर सडकमा तरुण दलका अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा नाराबाजी भएको हो । उनीहरूले निर्वाचन आयोगविरुद्ध नाराबाजी र देउवाको बखान गरेका छन् ।

कांग्रेस आधिकारिकताको विषयमा अहिले आयोगले कागजात अध्ययन गर्दैछ । विशेष महाधिवेशनलाई मान्यता दिने आयोगको तयारी रहेको सुइँको पाएर नै देउवा पक्ष मुठभेडमा उत्रिने देखिएको हो । कांग्रेस देउवा पक्षका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिइए देशव्यापी आन्दोलन गर्ने धम्की दिएका थिए । त्यसलगत्तै गगन पक्षले चारतारे झण्डा र रुख चुनाव चिन्ह पाउने अनुमान व्याप्त भएको हो ।

गगन थापा नेतृत्वको कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विभाजन नभएको बताएका छन् । आधिकारिकतासम्बन्धी जानकारी दिन शुक्रबार निर्वाचन आयोगमा पुग्नुभएको शर्माले कांग्रेस एकीकृत रहेको बताए । उनले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै गरेको दाबी गरे । विशेष महाविधशनले गरेको निर्णयअनुरूप आयोगले अद्यावधिक गर्नुपर्ने उनको भनाइ छ ।

शर्माले कांग्रेसको विवादमा आयोगले राजनीतिक दल विभाजनसम्बन्धी कुनै पनि कानुन आकर्षित नहुने उल्लेख गरे । विशेष महाधिवेशन प्रतिनिधिहरूले गरेको महाधिवेशन नै वैधानिक र लोकतान्त्रिक प्रक्रिया भएको उनको भनाइ छ । उनले विशेष महाधिवेशनले गरेको निर्णयलाई भ्रमपूर्ण प्रचार गरी पार्टी विभाजन गरिएको भनिएको आरोप पनि लगाए ।

शर्माले निर्वाचन आयोगलाई नै प्रभावमा पार्नेगरी आफूहरू पक्षको निर्णय नआए आन्दोलन गर्ने चेतावनी दिन गैर(राजनितिक चरित्र भएको बताए । उनले विधानअनुसार नै विशेष महाधिवेशनको माग तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको स्मरणसमेत गरे ।